धनगढीमा ४३ औं बिपी स्मृति दिवसको मनाइयो

युग संवाददाता     37 पटक पढिएको    

धनगढीमा ४३ औं बिपी स्मृति दिवसको मनाइयो

 

धनगढी । नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा धनगढीमा ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ विषयक अन्तरसम्वाद कार्यक्रम गरिएको छ । कांग्रेस जिल्ला कार्यसमिति कैलालीले आज अन्तर सम्वाद कार्यक्रम गरेको हो ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय नेता रणबहादुर रावल प्रमुख अतिथि रहेका थिए । यस्तै, केन्द्रीय सदस्य नृपबहादुर ओड, प्रदेश समितिका पदाधिकारीहरू, जिल्ला, क्षेत्रीय र नगर कार्यसमितिका नेताहरूका साथै तरुण दल र नेविसंघका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको समन्वय नेपाली कांग्रेस क्षेत्र नं ५ क्षेत्रीय कार्यसमिति र धनगढी नगर कार्य समितिले गरेका थियो ।

प्रमुख अतिथि रावलले बिपी कोइरालालाई केवल नेपाली कांग्रेसका मात्र नभई विश्वले चिनेको नेता भन्दै उनको सिद्धान्त विश्वस्तरमै स्वीकारिएको बताए । उनले पार्टीभित्रका कमजोरी र गुटबन्दीको अन्त्य गरी बिपीको विचारलाई एकजुट भई अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विशिष्ट अतिथि केन्द्रीय सदस्य नृपबहादुर ओडले पार्टीभित्र देखिएको असन्तुलनप्रति चासो व्यक्त गरे । “आज कांग्रेसभित्र म बनाउन सबै तल्लिन हुँदा संगठन कमजोर भएको छ, हामी सबैले म होइन हामी अर्थात् संगठन बनाउन लाग्नुपर्नेमा छ’ उनले भने ‘आगामी २०८४ को निर्वाचनका लागि मात्र होइन, सबै चुनावका लागि नेपाली कांग्रेस र कार्यकर्ता तयार रहनुपर्छ ।’

२०१५ सालमा नै बिपी कोइरालाले समावेशी बनाएको कांग्रेस पार्टीलाई अहिले हामी समावेशी बनाउँछौं भन्दै ठूला भाषण कुनै पनि नेताले दिन नहुने समेत उनले जिकिर गरे ।



बुधबार ०८, साउन २०८२ ०५:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal